काठमाडौं – बाँकेको राप्ती सोनारी गाउँपालिका –९ ढकरीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार १ जनाको ज्यान गएको छ, भने अन्य २ जना गम्भीर घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा भे८प ३७९५ र भे५प ३८८९ नम्बरको मोटरसाइकललाई सोमबार बेलुका करिब ७ बजे ना८ख ५४५६ नम्बरको टिपरले ठक्कर दिएको थियो ।
दुर्घटनामा परि गम्भीर घाइते भएका मोटरसाइकलमा सवार राप्तीसोनारी –८ का २५ वर्षीय ढगबहादुर खड्काको उपचारको क्रममा कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा सोमबार बेलुकी नै ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीको भनाई अनुसार दुर्घटनामा गम्भीर घाइते भएका स्थानीय ३५ वर्षीय मानबहादुर खड्का र कोहलपुर –५ का ५१ वर्षीय सञ्जय चन्दको सोही अस्पतालमा नै उपचार भइरहेको छ । दुर्घटनामा सङ्लग्न टिपर र चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।