काठमाडौं – जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले रेशम चौधरीलाई रिहाई नगरे ‘जेल भराउ’ आन्दोलन सुरु हुने बताउनु भएको छ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता महतोले रेशमलाई जेलमा राखिरहने तागत अब कसैसँग पनि नभएको समेत बताउनु भएको छ । धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा महतोले भन्नुभयो, ‘रेशमलाई अब जेलमै राखिरहने तागत कसैसँग छैन । रिहाई नगरे जेल भराउ आन्दोलन सुरु हुन्छ, हामी सबैलाई जेलमा राख्ने क्षमता त राज्यसँग छैन ।’
कैलालीको टीकापुरमा २०७२ साल भदौ ७ गते थरुहट आन्दोलनका क्रममा हिंसा भड्किँदा १ नावालक सहित ८ प्रहरीको हत्या भएको थियो । उक्त घटनाका योजनाकार रहेको अभियोगमा रेशम जेलमा रहेका छन् । घटनापछि फरार रहेकै अवस्थामा उनले कैलाली १ बाट अत्याधिक बहुमतका साथ सांसद पदमा विजयी भएका थिए ।
निर्वाचन जितेपछि रेशम जिल्ला अदालतमा हाँजिर भएका थिए । अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको छ । हाल उनी डिल्लीबजार कारागारमा रहेका छन् । जेलमै रहेका बेला रेशमलाई सांसद पदको शपथ समेत खुवाइएको थियो ।