पर्यटक आगमन

काठमाडौं— नेपालमा सन् २०२१ पछि पर्यटक आगमनमा सुधार देखिएको छ । यद्यपि आगमन वृद्धिदर भने न्यून छ । अध्यागमन विभागका अनुसार जनवरी र फेब्रुअरी महिनामा गरी कुल १८ हजार २० जना पर्यटक नेपाल आएका छन् । जनवरीमा ८ हजार ८ सय ७४ जना पर्यटक नेपाल आएका छन् । फेबु्रअरीमा पर्यटक आगमनमा सामान्य सुधार आएको छ । तथ्यांकअनुसार एक महिनामा ९ हजार १ सय ४६ जना पर्यटक नेपाल आएका छन् । यसबीचमा भारतबाट सबैभन्दा बढी संख्यामा पर्यटक आएका छन् । नेपाल र भारतबीच खुलेको सिधा हवाई सम्पर्क खुला भएसँगै भारतबाट पर्यटक आगमन वृद्धि भएको हो ।

नेपालले हवाईमार्गबाट आउने सबै भारतीयलाई पर्यटक मान्छ । तर, स्थलमार्गबाट आउने भारतीय भने पर्यटकमा गणना हुँदैनन् । दुई महिनामा भारतबाट मात्र ८ हजार ७ सय ९१ जना पर्यटक नेपाल आएका छन् । यो संख्या सन् २०२० को यसै अवधिको तुलनामा भने निकै कम हो । सन् २०२० को फेबु्रअरी महिनामा मात्र नेपालले भारतबाट १४ हजार ८ सय ४० पर्यटकलाई स्वागत गरेको थियो । दुई महिनामा चीनबाट २ हजार ५ सय ८५ जना पर्यटक नेपाल आएका छन् । चीनबाट जनवरीको तुलनामा फेबु्रअरीमा आगमन घटेको तथ्यांकमा देखिएको छ । फेबु्रअरीमा चीनबाट मात्र ७ सय ८ जना पर्यटक नेपाल आएका छन् ।

तथ्यांकअनुसार पछिल्ला दिनमा अमेरिकी पर्यटकको आगमनमा भने उल्लेख्य वृद्धि भएको छ । जनवरीमा ८ सय ७४ जना अमेरिकी नेपाल आएकोमा फेबु्रअरीमा १ हजार १ सय २० अमेरिकी पर्यटक नेपाल आएका छन् । दुई महिनाको अवधिमा अमेरिकाबाट १ हजार ९ सय ९४ जना पर्यटक नेपालको भ्रमणमा आएका छन् । युरोपका सबै मुलुकबाट फेबु्रअरीमा १ हजार १ सय ४२ जना पर्यटक नेपाल आएका छन् । यूरोपको बेलायतबाट यो महिनामा ५ सय २४ जना नेपाल आएका छन् । जनवरीमा बेलायतबाट १ सय ३६ जना पर्यटक नेपाल आएका थिए ।

जनवरीको तुलनामा फेबु्रअरी महिनामा हवाई यात्रुको संख्यामा समेत सामान्य वृद्धि भएको छ । अध्यागमन विभागका अनुसार यो महिनामा कुल ५७ हजार ५ सय ५९ यात्रु नेपाल भित्रिएका छन् । नेपालबाट ४४ हजार १ सय ५२ यात्रु त्रिभुवन विमानस्थल हुँदै बाहिरिएका जनवरीमा ५६ हजार १ सय ४१ यात्रु भित्रिएका थिए । ४७ हजार २ सय ३८ यात्रु बाहिरिएको अध्यागमनको तथ्यांक छ । यद्यपि यो संख्या कोरोना महामारीभन्दा अगाडिको तुलनामा भने आधा भन्दा कम हो ।