काठमाडौँ –धितोपत्र नेपालले आईपिओ बाँडफाँडमा हाल प्रयोग हुदै आएको १० कित्ता नीति परिवर्तन गर्ने भएको छ । यसले बजारमा धेरै लगानीकर्ताको सहभागी भएपनि विकृति बढेको भन्दै त्यसलाई परिमार्जन गर्न थालेको हो ।
बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाका अनूसार यो नीति लगानीकर्ताको सहभागी भएपनि विकृति बढेकोले यस बारे विभिन्न विकल्पमा छलफल भईरहेको बताए । आवेदन दिने सबैले न्युनतम १० कित्ता पाउँदा यस नीति प्रभावकारी देखिएको भएपनि आवेदन दिने सबैले शेयर नपाउने भएपछि १० कित्ते नीतिको अर्थ नरहने उनको भनाई छ ।
त्यस्तै १० कित्ते नीति हुँदा एकै व्यक्तिले धेरै जना व्यक्तिको नाममा खाता खोलेर शेयर भर्ने गरेको पाईएकोले विकृति बढेकोे बोर्डले निष्र्कष निकालेको छ । नेपाल धितोपत्र बोर्डले गत वर्ष गरेको एक सचेतना कार्यक्रममा बोर्डका निर्देशक नारायण शर्माले शेयर मार्केटलाई समावेशी बनाउनकालागि लिईएको १० कित्ते नीतिले शेयरमा लगानी गर्न चाहनेहरु सबैको हातमा शेयर पुगेपनि वेच्नकालागि समस्या भएको उल्लेख गरेका थिए।


लामो प्रक्रिया पुरा गरि शेयरमा आवेदन दिँदा १० कित्ता मात्र शेयर पर्दा शेयर परेको अनुभूति नै नहुने, शेयर नपर्दा आफुले खर्चेको समय खेर जाने, परेको शेयर बेच्न पनि लामो प्रक्रिया अपनाउनु पर्ने, र विकृति देखिएको लगायतका कारणले बोर्डले यस नीतिलाई परिमार्जन गर्न खोजेको बताईएको छ ।
बोर्डले यस अघिको झैँ न्युनतम ५० कित्ता पुर्याउने गरि छलफल गरिरहेको हो । बोर्ड अध्यक्ष ढुंगानाका अनुसार परिमार्जन गर्ने निर्णय गर्नु अघि अझै केहि कम्पनीको आईपिओ बिक्रि र बाँडफाँडलाई अध्ययन गरिने बताउछन् ।

सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आईपिओ निष्काशन गर्ने तयारी गरिरहेको र त्यसमा न्युनतम ५० कित्ता आवेदन दिनु पर्ने ब्यबस्था गरिएकोले त्यस समयसम्म अध्ययन गर्ने उनको भनाई छ । सर्वोत्तम सिमेन्टको आईपिओपछि १० कित्ते नीतिलाई परिवर्तन गरेर न्युनतम ५० कित्ता पुर्याउने उनले संकेत गरेका छन् । यद्यपि उनले कुनै ठूलो आकारको आईपिओ आएमा र सबैले शेयर पाउने सम्भावना रहेमा आईपिओको आकार अनुसार पनि बाँडफाँडको नियम बन्न सक्ने पनि बताएका छन् ।
हाल धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम शेयर बाँडफण्ड हुदै आएको छ । निर्देशिकाको दफा ३० मा धितोपत्र बाँडफाँड गर्दा सर्वप्रथम सबै आवेदकलाई दश कित्ताको दरले धितोपत्र बाँडफाँड गर्नु पर्ने ब्यबस्था छ ।

सबैलाई न्युनतम १० कित्ता बाँडफाँड गरे पश्चात बाँकी रहेको निष्काशित धितोपत्र बीस वा सो भन्दा बढी कित्ता आवेदन गर्ने आवेदकहरूलाई पुनः दश कित्ताका दरले धितोपत्रको बाँडफाँड गर्नु पर्ने ब्यबस्था छ । त्यसपछि पनि शेयर बाँकि रहेमा सोही प्रक्रिया अपनाई बाँकि शेयर बाँडफाँड गर्नु पर्ने ब्यबस्था छ।

तर धितोपत्र बाँडफाँड गर्दा दश कित्ताका दरले सबै आवेदकहरूलाई बाँडफाँड गर्न अपुग हुने अवस्थामा न्यूनतम दश कित्ता पाउने गरी गोला प्रथाबाट आवेदक छनौट गरी धितोपत्र बाँडफाँड गर्नु पर्ने निर्देशिकामा उल्लेख छ ।