काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टीलाई फेरि एक गराउन दोस्रो तहका नेताहरुले पहल थालेका छन् । दुई समूहमा विभाजित भइसकेका
शीर्ष नेताहरुबीचको सम्बन्ध निकै तिक्ततापूर्ण अवस्थामा पुगेको भए पनि दोस्रो तहका नेताहरुले पार्टीलाई फेरि एक गराउन सकिन्छ कि भन्ने बारेमा अनौपचारिक छलफल र कुराकानी गरिरहेका हुन् ।

पार्टी एकताका अवस्था निकै जटिल रहे पनि अझै एकताको आशा रहेको र आफू अर्को पक्षका नेताहरुसँगको कुराकानीमा रहेको ओली पक्षका नेता सुवास नेम्वाङले बताएका छन् ।
पहिले सजिलो अवस्थामा रहँदासमेत पार्टी एकता गर्न गाह्रो भएको अनुभव सुनाउँदै नेम्वाङले अहिले सम्बन्ध जटिल भइसकेकाले फेरि एकता गर्नको लागि कठिन रहेको जानकारी गराए । तर राजनीतिमा स्थायी शत्रु नहुने भन्दै जस्तोसुकै अवस्थामा पनि सम्भावना रहने भएकाले एकताको लागि प्रयास नछाड्ने नेम्वाङको भनाइ छ ।

प्रचण्ड–नेपाल समूहका दोस्रो तहका केही नेता पनि फेरि पार्टी एक गराउन सकिन्छ कि भनेर लागि परेका छन् । उनीहरुले ओली पक्षका दोस्रो तहका नेताहरुसँग अनौपचारिक छलफल गरिरहेका छन् । नेता भीम रावलले अहिलेकै अवस्थामा एकता कठिन भए पनि अवस्थालाई बिस्तारै सहजतातर्फ लैजान सकेमा र गल्तीको आत्मालोचना गरेमा एकता असम्भव नरहेको बताए।

नेता रावलका अनुसार ओली पक्षले पटक–पटक पार्टी फटाउने प्रयास गरेकाले अबको एकता उनीहरुको व्यवहारमै निर्भर हुने छ। ओली पक्षका नेताहरुसँग आफ्नो अनौपचारिक कुराकानी भइरहने नेता रावलको भनाइ छ।

औपचारिक रुपमा विभाजन नभए पनि नेकपा अहिले ओली पक्ष र प्रचण्ड– नेपाल पक्षमा विभाजित भइसकेको छ । दुवै पक्षले छुट्टाछुट्टै कमिटी बनाइसकेका छन् । शंकर पोख्रेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, जनार्दन शर्मा, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डेलगायतका नेताहरु पार्टी एकता जोगाउने पक्षमा देखिएका छन् ।