काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठक आह्वान गरेको छ । संसदीय दलको कार्यालयमा आज बिहान बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठक आह्वान गरेको हो । मंगलबार स्थायी कमिटीको बैठक र बुधबार दिउँसो १ बजे केन्द्रीय कमिटी बैठक आह्वान गरिएको हो । यसअघि फागुन ७ गते पनि स्थायी कमिटी र केन्द्रीय कमिटीको अनौपचारिक बैठक बसेको थियो ।
प्रतिनिधिसभा पुस्र्थापना भएपछि भने पहिलो पटक केन्द्रीय कमिटी बैठक आह्वान गरिएको छ । केन्द्रीय सदस्य ठाकुर गैरेले भने, ‘पार्टीको आगामी भूमिका कस्तो हुनेछ, भन्नेबारेमा निर्णय लिनको लागि स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आह्वान गरिएको हो’, । यो समूहका नेताहरु नयाँ सरकार निर्माण र निर्वाचन आयोगमा पार्टी वैधानिकताको दावीमा जोड दिदै आएका छन् ।