काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको सचिवालय बैठक अहिले सिंहदरबारमा बसिरहेको छ । उक्त बैठक नेकपा संसदीय दलको कार्यालयमा केहीबेर अगाडि प्रारम्भ भएको हो । फागुन २३ गते व्यवस्थापिका संसद्को बैठक बस्ने मिति तोकिए पनि संसद्मा कसरी प्रस्तुत हुने भनेर रणनीति तय गर्नका लागि सचिवालयका सदस्यहरु छलफल गर्न जुटेका छन् ।
कानुनत विभाजन नभएको नेकपाको प्रचण्ड–माधव समूहले सत्ता पक्षीय नेकपाका प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव कसरी पेश गर्ने र नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) को साथ कसरी लिने भन्ने विषयमा पनि उक्त बैठकमा छलफल हुने छ । अविश्वासको प्रस्तावलाई साथ दिन अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले विपक्षी दलहरु काँग्रेस र जसपाका शीर्ष नेतृत्वसँग आग्रह गरेका छन् । तर ती दुवै पार्टीका नेताहरुले कानुन रुपमा नेकपा विभाजन भएको प्रष्ट नभएसम्म निर्णय आफुहरुले कुनै निर्णय नलिने बताउँदै आएका छन् । भलै कांग्रेस र जसपाले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनु पर्ने भन्दै आइरहेका छन् । अविश्वासको प्रस्तावका सम्बन्धमा यी दुवै दलले खास मुख छोलेको देखिंदैन । नेकपा विभाजनको आधिकारितका कानुनी रुपमा नभैसकेकोले प्रधानमन्त्री ओली विरुद्ध संसद्मा नेकपा प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव पेश गर्न कानुनी अड्चन रहेको कानुनविदहरुको तर्क छ ।
गत पुष ५ गते प्रधानमन्त्री ओलीले आफ्नै पार्टीको झण्डै दुई तिहाइको सरकार हुँदाहुँदै संसद् विघटन गरी मध्यावधि निर्वाचनमा जाने निर्णय गरेका थिए । सर्वोच्च अदालतले गएको ११ गते फागुनमा संसद् पुनस्र्थापना गरेर १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो । सरकारले २३ गते फागुनमा बैठक बोलाएको छ ।