chori-1.jpg

काठमाडौं – महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको परिकौली चौकमा स्थापना गरिएको मधेश आन्दोलनका दुई शहीदको शालिक हिजो राति चोरी भएको छ । मधेश आन्दोलन २०७२/ ७३ मा महोत्तरी जिल्लामा सुरक्षाकर्मीको गोली लागि शहीद भएका जलेश्वर नगरपालिका– ११ का वीरेन्द्र विच्छा र वडा नं. ९ का राजेश ठाकुर दुवै जनाको शालिक चोरी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिएका छन् ।

वडा नं. ११ र वडा नं. ९ को साझा चोकको रुपमा रहेको परिकौली चौकमा ५ /७ फिट अग्लो बुर्जामाथि राखिएको दुवै जनाको प्रतिमा शालिक बिहीबार बिहान सो स्थानमा नरहेको वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र यादवले जानकारी दिएका छन् । वडाध्यक्ष रवीन्द्र यादवले मदिरा सेवन गर्नेहरुले शालिक चोरी गरेको हुनसक्ने आशङ्का व्यक्त गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार बिहानैदेखि प्रहरी टोली परिचालन गरी शालिकको व्यापक रुपमा खोजतलास भइरहेको र घटनामा सङ्लग्न व्यक्तिको पनि खोजतलास भइरहेको प्रहरी उपरीक्षक टीकाबहादुर केसीले जानकारी दिएका छन् ।