Myanmar-coup-2.jpg

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले म्यानमारमा गएको सोमाबार भएको सैन्य कू असफल पार्नका लागि विश्व समुदायसँग अपिल गरेका छन् । चुनावको नतिजा उल्ट्याउनका लागि गरिने कुनै पनि प्रयास स्वीकार्य नरहेको उनले बताएका छन् । कू गर्ने नेताहरुले देशको नेतृत्व गर्ने माध्यम यो होइन भनेर बुझ्नु पर्ने गुट्रेसले बताएका छन् ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा म्यानमारमा भएको सैन्य कू को निन्दा गर्दै वक्तव्य जारी गर्ने प्रयास पुनः गर्ने सम्भावना छ । तर चीनले निन्दाको कुनै पनि शब्दसहितको वक्तव्यमा अवरोध गर्ने देखिन्छ । यसअघि मंगलबार भएको सुरक्षा परिषदको बैठकले चीनको अवरोधका कारण निन्दाको वक्तव्य जारी गर्न सकेको थिएन । गएको सोमबार बिहान सेनाले निर्वाचित नेतृ आङ साङ सूकीसहितलाई गिरफ्तार गरि सत्ता हातमा लिएको हो । सेनाले देशमा एक वर्षका लागि संकटकाल लागु गरेको छ ।

विश्व समुदायले म्यानमारमा भएको सैन्य कू को विरोध गरेको छ । म्यानमार भित्रै पनि नागरिक तथा पेशाकर्मीहरुले विरोध गरिरहेका छन् । सर्वसाधारणले भाँडा बजाएर विरोध गरेका छन् भने स्वास्थ्यकर्मीले काम बन्द गरेर विरोध गरिरहेका छन् । म्यानमारको सेनाले स्थानीय समय अनुसार सोमबार बिहानै सत्तारुढ नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) पार्टीकी नेतृ आङ साङ सूकीसहित शीर्ष नेतालाई गिरफ्तार गरि सत्ता नियन्त्रणमा लिएको हो ।

गएको नोभेम्बर ८ मा भएको चुनावमा सूकीको पार्टी अत्याधिक बहुमत ल्याएर विजयी भएको थियो । तर सो चुनावमा धाँधली भएको आरोप लगाएको सेनाले निर्वाचित सांसदको पहिलो बैठक बोलाइएकै दिनको सबेरै सत्ता हत्याएको हो ।