IMG_0681_YxIhyk1aQ2.jpg

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले गरेको देशव्यापी आम हड्तालको प्रभाव पोखरामा पनि परेको छ । बन्दकर्ताहरु पोखराको चोकचोकमा बसेर सवारीसाधनलाई आवतजावतमा रोक लगाएका छन् । बजार क्षेत्रमा छोटो दुरीका निजी यातायातका साधन न्यून मात्रामा सञ्चालनमा भएपनि सार्वजनिक यातायातका साधन सञ्चालनमा आएका छैनन् । शिक्षण संस्था, उद्योग तथा व्यापारिक केन्द्रहरु बन्द भएका छन् ।

संवैधानिक निकायहरुमा ओली सरकरले बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–माधव समूहले आज नेपाल बन्द गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, मुश्लिम आयोग लगायतका संवैधानिक निकायहरुमा नियुक्त गरेकी थिइन् । असंवैधानिक र गैरकानूनी रुपमा संवैधानिक निकायहरुमा नियुक्त गरेको विरोधमा नेपाल बन्द गरिएको नेकपा कास्कीका इञ्चार्ज राजकाजी गुरुङ (करण)ले जानकारी दिएका छन् । उनले बन्द शान्तिपूर्ण रहेको समेत जानकारी दिएका छन् । पोखराको महेन्द्रपुलमा शान्तिपूर्ण विरोध प्रदर्शन गरिरहेका एक जना विद्यार्थी नेता विनायक तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको इन्चार्ज गुरुङले बताएका छन् ।

बन्द साँझ ६ बजेसम्म बन्द जारी रहने छ । बन्दका समयमा परीक्षार्थीलाई छुट दिइएको छ । परीक्षामा सहभागी हुन जाने वा फर्किने परिक्षार्थी विद्यार्थी र उनका अभिभावकलाई सवारी साधन सञ्चालन गर्न दिइएको इञ्चार्ज करणले बताएका छन् । त्यस्तै, एम्बुलेन्स, औषधी बोकेका गाडी, पानी, दूध बोक्ने गाडी, कुटनीतिक नियोग, पत्रकारलगायतलाई पनि सवारी साधन सञ्चालन गर्न दिइएको उनले बताए । यसैक्रममा पोखरामा नेकपा ओली समूहका करिव २ दर्जन युवाहरुले बन्द विरुद्ध मोटरसाइकल सहित नारावाजी गर्दै विरोध जनाएका छन् । उनीहरुले मोटरवाइकमा पोखराका विभिन्न ठाउँ घुमेर विरोध गरिरहेका छन् ।