ministry-of-home-affairs-nepal.jpg

काठमाडौँ—गृहमन्त्रालयले शुक्रबार काठमाडौँमा हुने प्रधानमन्त्री केपी शर्मा ओलीको शक्ति प्रदर्शन कार्यक्रममा सहभागी हुन बाहिर जिल्लाबाट आउनेलाई जसरी पनि ल्याउन सुरक्षा निकायलाई निर्देशन दिएको छ । सत्तारुढ नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’—माधवकुमार नेपाल समूहले बिहीबार नेपाल बन्दको घोषणा गरेपछि गृहमन्त्री रामबहादुर थापा बादलले बुधबार दिउँसो सुरक्षा निकायका प्रमुखलाई बोलाएर त्यस्तो निर्देशन दिएका हुन् ।

उपत्यका बाहिरबाट लाखौँको संख्यामा मानिसहरु काठमाडौँ आउँदैछन् । उहाँहरु आउने बसलाई जसरी पनि शुक्रबार बिहानसम्म काठमाडौँ आइपुग्ने व्यवस्थापन गर्नुस, बादलले सुरक्षा निकायलाई दिएको निर्देशन उदृत गर्दै गृह मन्त्रालयका एक उच्च अधिकारीले भनेका छन् । प्रतिनिधिसभा विघटन गरेपछि तीव्र आलोचना खेपिरहेका प्रधानमन्त्री ओलीले शुक्रबार दरबारमार्गस्थित नारायण हिटी सङ्ग्राहलयमा सभा गरेर शक्ति प्रदर्शन गर्दैछन् ।

आफ्नै पार्टीका प्रचण्ड—नेपाल पक्षले निरन्तर शक्ति प्रदर्शन र विरोध गरिरहेका बेला गत साता प्रधानमन्त्रीले माघ २३ गते हुने आफ्नो जनसभा वास्तविक शक्ति प्रदर्शन हुने र त्यसले आफ्नो पक्षमा कति ठूलो समूह रहेछ भनेर विरोधिले देख्ने बताएका थिए । प्रचण्ड—नेपाल समूहले नेपाल बन्द आह्वान गरेपछि बादलले बुधबार सुरक्षा निकायलाई बोलाएर बुधबार साँझ तराईका विभिन्न जिल्लाबाट सभामा सहभागी हुनेका बसहरु आउने भन्दै तिनिहरुलाई स्कर्टिङ गरेर भएपनि काठमाडौँ ल्याइ पु¥याउन निर्देशन दिएका हुन् । ‘ सम्भव भएन भने काठमाडौँ आउने बसहरुलाई एकै ठाउँमा जम्मा गरेर स्कर्टिङ गरेर ल्याउनुस’,बादलको भनाई उदृत गर्दै गृह मन्त्रालय स्रोतले भन्यो ।

स्रोतका अनुसार नेकपाका ओली समूहले तराईका हरेक जिल्लाबाट कम्तिमा १० हजार मानिस काठमाडौँमा ल्याउने तयारी गरेको छ । ओलीले पार्टीभित्रको आन्तरिक किचलोका कारण गत पुष ५ गते प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनाव घोषणा गरेका थिए । सुरक्षा निकायले बिहीबार हुने नेपाल बन्द हिंसात्मक हुने निष्कर्ष निकाल्दै संयम भएर व्यवस्थापन गर्न मातहतलाई सर्कुलर जारी गरेका छन् । सत्तारुढ दलकै दुई समूहबीच झडपको अवस्था आउन सक्ने सुरक्षा निकायको निष्कर्ष छ । मुख्य चिन्ता काठमाडौँ उपत्यकाको हो। तर बाहिर पनि समस्या आउन सक्छ।