Prachanda_2.jpg

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र विद्रोहलाई शान्तिमा रुपान्तरण गर्ने निर्णय सही भएको बताएका छन् । बुधबार बहिर्गमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले आफूहरुको नियती पेरु र श्रीलङ्काको सशस्त्र विद्रोहको जस्तो हुनसक्ने देखेर शान्तिपूर्ण राजनीतिमा आउने निष्कर्षमा पुगेको बताएका हुन् ।

उनले ‘नेपालको राजनीतिमा निरङ्कुशतावादीले सम्पूर्ण सत्ता लिन खोजेको बेलामा जनयुद्धलाई शान्तिमा रुपान्तरण गर्ने र राजतन्त्रलाई गणतन्त्रमा रुपान्तरण गर्ने बेला यही हो भनेर यसबेला गरिएन भने त्यसपछि फेरि समय आउँदैन, हाम्रो नियती पेरुकै हुन्छ । हाम्रो नियती श्रीलङ्काकै हुन्छ भन्ने देखेँ भनेका छन् ।’ राजनीतिक आन्दोलन भनेको राष्ट्रिय मात्रै नहुने भन्दै उनले विश्व परिस्थिति हेर्नुपर्ने बताएका हुन् । उनले भने, ‘राजनीतिक आन्दोलन भनेको राष्ट्रिय मात्रै हुँदैन । यसको अन्तर्राष्ट्रिय आयाम पनि हुन्छ । विश्व परिस्थिति कस्तो छ भन्नेमा पनि भर पर्छ ।’ उनले विश्वमा भएका ठूलाठूला सशस्त्र विद्रोहको नाम निशान आफ्नै आँखा अगाडि मेटिएको आफूले देखेको बताएका छन् ।

उनले भने, ‘हामीले जनयुद्ध सुरु गर्दा भारतमा, श्रीलङ्कामा ठूल्ठूला युद्ध थिए । श्रीलङ्काको तमिलहरुको सशस्त्र विद्रोह संसारभर ख्याति प्राप्त विद्रोहको रुपमा थियो । ल्याटिन अमेरिकामा पेरुमा, कोलम्बियामा ठूल्ठूला युद्ध थिए । हामीले लड्दै गर्दा हाम्रै आँखा अगाडि तमिलहरुको त्यत्रो विद्रोह नराम्रोसँग दवियो । त्यसको प्रमुख नेतादेखि हजारौँ हजार मानिसहरु मारेर ध्वस्त पारियो ।’ सबै परिस्थिति हेरेर ‘जनयुद्ध’लाई विजयतर्फ लैजान यस्तो निर्णय गरेको उनको भनाइ छ ,मैले तपाईंहरुलाई विजयतिर लैजान, तपाईंहरुको बलिदान खेर नजाने बाटो के हुनसक्छ भन्नेतर्फ अलि बढी सोचेँ । लड्दा हामी पनि एक लाखसम्म मर्दै जान र मार्दै जान सकिन्थ्यो । त्यसरी युद्ध जितिन्छ त?’