puspa-and-reebika.jpg

काठमाडौं – नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीको मुख्य भूमिका रहेको चलचित्र ‘कृष्ण लीला’को प्रदर्शन मिति तय भएको छ । यो चलचित्र चैत्र २७ गतेदेखि रिलिज हुने पक्का भइसकेको छ । दीपक ओलीको निर्देशनमा तयार भएको चलचित्रले नयाँ बर्षको छेकोमा हलसम्म दर्शक तान्ने अपेक्षा गरिएको छ । यो चलचित्रका प्रस्तुतकर्ता रोहित कट्टेलले ‘कृष्ण–लीला’ दर्शकलाई नयाँ बर्षको कोसेली स्वरुप रिलिज गर्न लागेको समेत बताएका छन् । आर आर फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण भएको ‘कृष्ण–लीला’ चलचित्रमा कार्यकारी निर्माताको रुपमा रत्न श्रेष्ठ रहेका छन् । चलचित्रमा प्रकाश कार्की र केवल तामाङको लगानी रहेको छ ।

यो चलचित्रमा बुद्दि तामाङ, भावना गुरुङ, आयुष गुरागाँई, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम लगायतका कलाकारले अभिनय गरेका छन् । लक्ष्मण सुवेदीको लेखन रहेको यो चलचित्रमा शिब ढकाल र बाबु श्रेष्ठको छायाङ्कन, अर्जुन पोखरेलको संगीत, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको एक्सन रहेको छ । चलचित्रमा समाबेश ‘कुनै दिन यस्तो पनि’ बोलको रोमान्टिक गीत भ्यालेन्टाइनडेको अवसर पारेर माघ ३० गते रिलिज गरिने निर्माणपक्षले जानकारी दिएको छ । पूर्वी नेपालको पाँचथर, इलाम, झापा लगायतका जिल्लाका बिभिन्न रमणीय स्थलमा यो चलचित्रको छायाङ्कन गरिएको छ ।