prakashman.jpg

काठमाडौं– सरकारले संवैधानिक निकायहरुमा गरेको नियुक्ति असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले उक्त नियुक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको छ । प्रतिनिधिसभा भङ्ग गरेर प्रधानमन्त्रीले असंवैधानिक कदम चाल्दै संसदीय सुनुवाइ समिति नै नभएको अवस्थामा संविधानको खिल्ली उडाउँदै म नै संविधान हूँ भन्ने दम्भ उजागर गरेको नेता सिंहको आरोप छ ।

संवैधानिक परिषद्लाई प्रधानमन्त्रीले आफ्नो कठपुलती बनाउँदै रिक्त रहेका विभिन्न संवैधानिक आयोगहरुमा आफ्नो आसेपासेहरुलाई नियुक्ति गरेको नेता सिंहको ठहर छ । नेता सिंहद्वारा आज (बुधबार) जारी गरिएको विज्ञप्तिमा ‘आज गराइएको सपथ असंवैधानिक सिफारिसलाई मान्यता दिनका लागि गरिएको अर्को असंवैधानिक कदम हो । संविधानलाई मिचेर अघि बढ्ने सरकारको अधिनायकवादी आकांक्षाको जति निन्दा गरे पनि कम हुन्छ ।’ उल्लेख गरिएको छ ।

उक्त विज्ञप्तिमा ‘सरकार र सरकारमा रहनेहरूको असंवैधानिक कार्य र मनपरितन्त्रका कारण ७ दशक लामो संघर्ष र ठूलो बलिदानीबाट प्राप्त उपलब्धिका रूपमा रहेको संविधान सङ्कटमा परेको भन्दै ‘अब पनि सचेत नहुने हो भने देश गम्भीर संवैधानिक र राजनीतिक दुर्घटनामा पर्ने निश्चित छ । सरकारले संविधान मिचेर गरिरहेको असंवैधानिक सिफारिस, नियुक्ति र राज्यस्रोतको दोहनले सीमा नाघिसकेको छ । अनावश्यक नियुक्ति र राज्यस्रोतको दुरूपयोग गर्दै ज्ञानेन्द्र शैलीमा गरिएका सभासम्मेलन देशलाई अस्थिरतातर्फ धकेल्न उद्दत देखिन्छ’ भनिएको छ । कांग्रेस नेता सिंहले ‘संविधानको रक्षा गर्न र राज्यको ढुकुटीमाथिको ब्रह्मलुट रोक्नमा लागि सबैलाई सचेत र जागरुक रहन समेत आह्वान गर्नभएको छ ।