Vaccine-coronavirus.jpg

काठमाडौं – डोटीमा कोरोना भाइरसविरुद्धको खोप लगाउने ३३ जनाको स्वास्थ्यमा समस्या देखिएको छ । खोप लगाउने जम्मा ८ सय ७७ मध्ये ३३ जनामा समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । उनीहरुलाई सामान्य ज्वरो आउने, चक्कर लाग्ने, बान्ता र पखाला लाग्नेलगायत समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिएका छन् ।

केही समय मात्रै सामान्य असर देखिएकाले उनीहरु सबै आ–आफ्नो नियमित काममा फर्किसकिएको समेत बताइएको छ । पछिल्लो केही दिनदेखि अस्पतालमै आएर कोरोना भाइरसविरुद्धको खोप लगाउने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको उपस्थिति उत्साहजनक रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । खोप लागाउनेमा पुरुष स्वास्थ्यकर्मीभन्दा पनि महिला स्वास्थ्यकर्मीको सङ्ख्या बढी रहेको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी सूर्य विष्टले जानकारी दिएका छन् ।

सूर्य विष्टका अनुसार कोरोना भाइरसविरुद्वको खोप लागउनेमा महिला ५ सय ३२ र पुरुष ३ सय ४५ जना रहेका छन् । यही १४ गतेदेखि शुरु भएको कोरोना भाइरसविरुद्धको खोप अभियानमा जिल्लाभरिबाट आउने स्वास्थ्यकर्मीलाई स्थानीय तहअनुसार पालैपालो कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिएको छ । खोप अभियान जिल्ला अस्पताल परिसरमा सञ्चालन भइरहेको छ । जिल्लामा जम्मा १ हजार ६ सय २० डोज भ्याक्सिन आएको अस्पतालले जानकारी दिएको छ । सरकारले निर्धारण गरेको पहिलो चरणमा लगाइने स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, सरसफाइकर्मी, एम्बुन्लेस चालकलगायत जिल्लामा जम्मा १ हजार ५ सय २६ जनालाई खोप लगाउने लक्ष्य लिइएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिएका छन् । उनले भने, “हामी पहिलो चरणमा स्वास्थ्कर्मी, सरसफाइकर्मी तथा चालकलाई खोप लगाउँदैछौँ, त्यसपछि सरकारको निर्देशनअनुसार अन्यलाई लगाउनेछौँ ।”

जिल्लामा सोमबारसम्म मात्रै खोप लगाउने निर्णय गरिएको भएता पनि त्यो समय बढाएर यही माघ २२ गतेसम्म राखिएको छ । खोप लगाउन अझै केही सङ्ख्या बाँकी रहेकाले कोभिड खोप व्यवस्थापन तथा अनुगमन समितिको निर्णयअनुसार केही दिन समय बढाएको अस्पतालले जानकारी दिएको छ ।