joe-biden-296106-N4lAnZmL.jpg

काठमाडौं – विश्वभरी नै प्रजातान्त्रिक मूल्य र मान्यतामाथि आक्रमण भइरहेको समयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२१ मा प्रजातन्त्रसम्बन्धी शिखर सम्मेलन गर्ने तयारी गरेका छन् । सो सम्मेलनमा विश्वभरका प्रजातान्त्रिक मुलुकहरुलाई आमन्त्रण गर्ने र प्रजातन्त्र र यसका मूल्य मान्यताप्रति अमेरिकी र विश्वव्यापी प्रतिवद्धता नविकरण गरिने अमेरिकी सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् ।

सो सम्मेलन आयोजना गरेर बाइडेन प्रशासनले आफू निरंकुश र पपुलिष्ट राजनीतिको विपक्षमा रहेको सन्देश दिन खोजेको हो । विश्वभर पछिल्लो समय देखिएको निरंकुश र पपुलिष्ट राजनीतिले अमेरिकी प्रजातन्त्रको मूल्य र मान्यतामाथि आक्रमण गरेको बाइडेन प्रशासनको बुझाइ छ । यति मात्र होइन्, पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थकहरुले क्यापिटल हिलमा नै आक्रमण गरेपछि धेरैले यसलाई विश्व प्रजातन्त्रमाथिको आक्रमणको रुपमा विश्लेषण गरेका थिए ।

यस अगाडि चुनावी अभियानकै समयमा पनि बाइडेनले आफूले जितेमा सो सम्मेलन आयोजना गर्ने बताएका थिए । पछिल्लो समयमा विश्वभरी नै निर्वाचन मार्फत आएका शासकहरुले नै प्रजातन्त्रको मूल्य र मान्यतामाथि धावा बोलिरहेका छन् । अमेरिकाले आयोजना गर्ने सम्मेलन मुख्यत ४ विषयमा केन्द्रित रहने छ । भ्रष्टाचार विरुद्ध संयुक्त संघर्ष गर्ने, निरंकुश शासकको विपक्षमा उभिने, चुनावी सुरक्षाको ग्यारेन्टी गर्ने र विश्वभर मानव अधिकारको अवस्थालाई सुदृढ बनाउने विषयमा छलफल गर्ने योजना छ ।