Untitled.jpg

काठमाडौँ—प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको भूबनोटका कारण नेपाली खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा सफलता हात पारिरहेको बताएका छन् । हिमाल,पहाड र तराईको नेपाली भुबनोटमा हुर्कन पाउनुले दुनियाँलाई प्रतिस्पर्धा गर्न गाह्रो भएको उनले बताएका छन् । ‘प्रधानमन्त्रीसँग खेलकुद’ कार्यक्रममा बोल्दै उनले नेपाल इतिहासमा कहिल्यै नहारेकाले खेलकुदमा पनि हार सम्भव नभएको बताएका छन् ।

राष्ट्रिय युद्ध जितेका, इतिहासमा कसैले पराजित गर्न नसकेका हामी भकुण्डो खेल्ने (फुटबल) र बल फ्याँक्ने (क्रिकेट) खेलमा के हार्थ्यौँ ?’, ओलीले भने,’ नेपालीलाई धेरै उचाईसम्म हाई अल्टिट्युड लाग्दैन । हाम्रो भुगोल यस्तो छ की त्यस्तो ठाउँमा दौडिएको फोक्सो निकै बलियो छ, मुटुलाई धड्किन बानी परेको छ । हाम्रा मसलहरु बलिया छन् । प्रकृतीले हामीलाई दिएका यी असाधारण कुरा हुन् जससँग बाँकी दुनियाँलाई प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ । ‘ आफ्नो अभ्यासलाई जित्ने स्तरसम्म तयारी नगरेका कारण विगतमा अपेक्षित सफलता हात पार्न नसकेको उनले बताए । ‘राष्ट्रिय युद्ध जितेका हामी एउटा कुस्ती हार्ने हुन्छ ? भारत्तोलन हार्ने हुन्छ ?’, उनले प्रश्न गरेका छन् ।

उनले कास्य र रजत पदक अरुलाई दिएर स्वर्ण मात्र लिने गरि तयारी गर्न निर्देशन दिएका छन् । उनले खेलाडी छनोटमा विभेद नगर्न पनि निर्देशन दिए । ‘खेलाडीको सम्भावना हेरेर उसलाई छनोट गरि तयारी गर्नुपर्छ । मलाई पोल जम्पका लागि छनोट गरेर हुन्छ ?’, प्रधानमन्त्रीले भने। ओलीले खेलमा जित हारको ठुलो महत्व हुने बताएका छन् । नेपालीलाई जित्ने बानी परेकाले आफुले प्रतिनिधी सभा विघटन गरेर चुनाव समेत आइसकेको समयमा एउटा समूह अझै उक्त निर्णय खारेज गरेर जितको अभिलाषा पुरा गर्ने प्रयाशमा रहेको उनले बताएका छन् ।