s-l1000.jpg

काठमाडौं – दैलेखको डुङ्गेश्वर गाउँपालिकाका एकल पुरुषले पनि भत्ता पाउने भएका छन् । गाउँपालिकामा रहेका एकल पुरुषले पटक–पटक भत्ता पाउने माग राखेपछि आर्थिक वर्ष २०७६र७७ मा कार्यविधि निर्माण गरी बजेट विनियोजन गरिएको हो । गाउँपालिकाले ५५ वर्षमाथिका एकल पुरुषलाई भत्ता दिने निर्णय गरेपछि भत्ता पाउने भएका हुन् । उनीहरलाई मासिक रु ५ सय रुपैयाँ भत्ता दिने निर्णय भएको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाले ऐन निर्माण गरी गाउँपालिका क्षेत्रभित्र बसोबास गर्ने ५५ वर्षमाथिका एकल पुरुषलाई माघदेखि भत्ता दिने निर्णय गरेको अध्यक्ष नगेन्द्रबहादुर मल्लले जानकारी दिएका छन् । ‘भत्ता ६/६ महिनामा वितरण गरिनेछ,’ अध्यक्षले भने । त्यसैगरी विवाह नगरी बसेकी महिलालाई पनि भत्ता दिने निर्णय भएको अध्यक्ष मल्लले जानकारी दिएका छन् । तर महिलाको उमेर हदबारे भने छलफल भइरहेको र एकल पुरुष र अविवाहित महिलाहरूको लगत सङ्कलन गर्ने काम भइरहेको छ ।