yb_XOuu9EqAjM.jpg

बझाङका एक युवक १६ दिन देखि बेपत्ता भएका छन् । ससुराली दाङ हिँडेका जयपृथ्वी नगरपालिका ४ गोलाइ घर भएका २० वर्षीय लक्ष्मण विक विगत १६ दिनदेखि बेपत्ता भएका छन् । विकले १४ महिनाअघि दाङ तुल्सीपुर नगरपालिका–१८ की गायत्री कुमालसँग विवाह गरेका थिए । श्रीमती भेट्न ससुराली गएका विक बेपत्ता भएपछि उनका आफन्तहरुले ससुराली पक्षहरुले नै उनलाइ बेपत्ता पारेको आरोप लगाएका छन् ।

विवाह भएको ५ महिनासम्म बझाङ बसेर माइतीघर दाङ हिँडेकी गायत्री बझाङ फर्किन नमानेपछि घरमा लिन भनि गएका छोरा बेपत्ता भएको उनका बुवा हरी विकले जानकारी दिएका छन् । लक्ष्मण र गायत्रीको फोनमा समेत झगडा हुने गरेको र छोरालाई ससुराली बोलाएर ससुराली पक्षले नै बेपत्ता पारेको उनको आरोप रहेको छ ।

श्रीमती लिन ससुराली हिँडेका लक्ष्मण बेपत्ता भएपछि खोजीको लागि दाङ प्रहरीमा उजुरी दिएको तर हालसम्म केही पत्ता नलागेको भन्दै परिवार चिन्तामा परेका छन् । माघको पहिलो सातातिर काठमाडौंमा रहेका लक्ष्मणलाई गायत्रीले नै फोन गरेर लिन आउन भनेर फोन गरेको उनका दाई गणेश विकले बताएका छन् । उनले भने, ‘बुहारीले नै लिन आउ भनेर फोन गरेर बोलाएकी हुन्, हालसम्म पनि भाइको अत्तोपत्तो छैन । माइती पक्षले नै बेपत्ता पा¥यो कि भन्ने शंका उत्पन्न भएको छ ।’