prachanda-madhab-nepal.jpg

काठमाडौं – नेकपा प्रचण्ड–नेपाल समूहले आधिकारिकता दाबीको लागि आज निर्वाचन आयोगलाई पत्र बुझाउने तयारी गरेको छ । हिजो बसेको केन्द्रीय कमिटि बैठकको निर्णय अनुसार पार्टीको आधिकारिकताका लागि आयोगमा पत्र बुझाउनको लागि आज निर्वाचन आयोग जाने नेता लिलामणि पोखरेलले जानकारी दिएका छन् । उनले आज मध्यान्नमा आयोगलाई आधिकारिकता दाबीको पत्र बुझाइने समेत बताएका छन् ।

त्यसका लागि अहिले नेताहरुबिच छलफल भइरहेको उनले बताएका छन् । सोमबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसेको यो पक्षको केन्द्रीय कमिटी बैठकले नेकपाको आधिकारिकताका लागि दाबी गर्दै आयोगलाई पत्र लेख्ने निर्णय गरेको थियो ।

संसद विघटनसँगै नेकपाको प्रचण्ड–नेपाल पक्षले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको थियो भने ओली पक्षले केन्द्रीय कमिटि बिस्तार गरेको थियो । दुवै समूहले राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार त्यही विवरण अध्यावधिक गर्न आयोगलाई पत्र लेखेका थिए । तर गत माघ ११ गते बसेको निर्वाचन आयोगको बैठकले दुवै पक्षका दाबी अस्वीकार गरेको थियो । आयोगले पार्टी एकतापछि २०७५ साल जेठ २३ गते बुझाएको ४ सय ४१ केन्द्रीय सदस्य तथा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षलाई मान्यता दिएको थियो ।