ccm_prachanda_nepal_lV2aZ0wdo4.jpg

काठमाडौं—नेकपा प्रचण्ड–नेपाल पक्षको केन्द्रीय समिति बैठकमा केही केन्द्रीय सदस्य अनुपस्थित भएका छन् । केही नेताहरु काम विशेषले राजधानी बाहिर रहेका तथा केही अस्वस्थ समेत रहेका कारण आज पहिलेको तुलनामा केही कम केन्द्रीय सदस्य सहभागिता रहेको बैठकमा सहभागी प्रचण्ड–नेपाल पक्षका एक नेताले बताएका छन् । यस्तै केही केन्द्रीय सदस्य भने बागमती प्रदेशसभाको बैठकका कारण पनि काठमाडौं आउन नपाएको बताइएको छ । उद्यपी सबै पार्टीकै सम्पर्कमा रहेको प्रचण्ड–नेपाल समूहले दावी गरेको छ ।

प्रचण्ड–नेपाल समूहका एक नेताले भने, ‘आजको बैठकमा २ सय ७० जना भन्दाबढी केन्द्रीय सदस्यको सहभागिता रह्यो । अरु धेरै केन्द्रीय सदस्य पनि हामीतिरै हुनुहुन्छ । तर केही राजधानी बाहिर रहेका कारण सहभागी हुन सक्नु भएन । आजै बागमती प्रदेशसभा बैठक समेत हुँदा पनि केही केन्द्रीय सदस्य सहभागी हुन सक्नु भएन । उहाँहरु सबै हाम्रो सम्पर्कमै हुनुहुन्छ । केहीले चाहिँ अस्वस्थ भएको जानकारी गराउनु भएको छ ।’

यद्यपी यसअघिको केन्द्रीय समिति बैठकमा सहभागी बनेका ५ जना भने ओली पक्षतिर लागेका छन् । केही ओलीतिर लागेका प्रचण्ड समूहतिर पनि खुलेको ती नेताको भनाइ छ । यसअघिको बैठकमा २ सय ९५ जना केन्द्रीय सदस्यको सहभागिता रहेको प्रचण्ड–नेपाल पक्षको दावी छ । आज भने दुई तिर बैठक हुँदा केही थोरै केन्द्रीय सदस्यको सहभागिता रहेको बताइएको छ । नेकपाको केन्द्रीय समितिमा हाल ४ सय ३६ जना रहेका छन् । आजको बैठक केपी ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारबाही गर्नेलगायतका निर्णय गर्दै सकिएको छ ।