Agni-Kharel-at-Court.jpg

काठमाडौं —प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइ गरिरहेको संवैधानिक इजलसमा सोमबारबाट विपक्षीको बहस सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरेका छन् । बहसका क्रममा खरेलले वर्तमान सरकार संविधानको धारा ७६ (१) अनुसारकै भएको जिकिर गरे । निवेदकले ७६ (१) को सरकार भने पनि बहसका क्रममा त्यस विपरित धारणा आएको भन्दै उनले ७६(२) बमोजिमको सरकार हो भने दुई दलहरू कुन हुन् भन्ने प्रश्न गरे ।

उनलाई न्यायाधीश अनिल सिन्हाले भने पार्टी एकीकरण नहुँदै प्रधानमन्त्री कसरी बहुमतप्राप्त दलको नेता भए भनेर प्रश्न गरेका छन् । २०७५ जेठ ३ मा नेकपा एकीकरण भएको र ५ मा संसदीय दलको नेता चयन भएको भएको भन्दै उनले प्रश्न गरे, उहाँले राष्ट्रपतिलाई पठाएको मन्त्रिपरिषद निर्णय नम्बर १ मा आफू बहुमतप्राप्त पार्टीको संसदीय दलको नेता भन्नुभएको छ । जुन मितिमा पार्टी एकीकरण भएकै थिएन, त्यो बेला बहुमत प्राप्त संसदीय दलको नेता कसरी हुनुभयो ?’तर महान्यायाधिवक्ता खरेलले यो प्रश्नको जवाफ नदिई बहस अघि बढाएका छन् ।