ccm_prachanda_nepal_lV2aZ0wdo4.jpg

काठमाडौं – नेकपा प्रचण्ड माधव पक्षले केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । यस्तै महासचिव विष्णु पौडेललाई पनि सो पदबाट हटाएको छ । आज बसेको प्रचण्ड नेपाल पक्षको चौथो केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको हो । बैठकमा नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी र पौडेललाई महासचिवबाट हटाउने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव बैठकले पारित गरेको हो ।

यसअघि प्रचण्ड–नेपाल पक्षको पेरिसडाँडामा माघ ११ गते बसेको स्थायी कमिटीको बैठकले पनि ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको थियो । ओलीले पार्टीको नीतिविपरीत गतिविधि बढाउँदै गएको भन्दै माघ २ मा बसेको स्थायी कमिटी बैठकले उनलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय समेत गरेको थियो । नेताहरुले माघ ५ मा ३ दिनको अल्टिमेटमसहित उक्त पत्र प्रधानमन्त्री निवास बालुवाटार पुगेर बुझाएका थिए । तर, ओलीले स्पष्टीकरण नदिएपछि ११ गतेको बैठकले ओलीलाई पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको थियो । सोही निर्णय केन्द्रीय समितिबाट पनि अनुमोदन गराइएको हो । यसअघि केन्द्रीय कमिटीको बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाएरको थियो । अहिले ओलीको ठाउँमा नेपाललाई अध्यक्ष बनाइएको छ ।