delhi-coronavirus-25-nov-1606320639.jpg

एजेन्सी – भारतमा गत २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणको कारण १ सय १८ जनाको मृत्यु भएको छ । यो सङ्ख्यासँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको कुल सङ्ख्या १ लाख ५४ हजार ३ सय ९२ जना पुगेको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आइतबारसम्म १ करोड ७ लाख ५७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा ११ हजार ४ सय २७ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ७ लाख ५७ हजार ६ सय १० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा भारतमा १ करोड ४ लाख ३४ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा १ लाख ६८ हजार २ सय ३५ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा गत जनवरी १६ देखि कोभिड –१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म ३७ लाख भन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मीहरु रहेका समेत जानकारी दिइएको छ ।

भारतको राजधानी दिल्लीमा आइतबार १ सय ४० जना थप व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको र ४ जनाको मृत्यु भएको छ । भारतमा कोभिड –१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ८ सय ३५ जनाको मृत्यु भइसकेको छ । यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ ।