Madira-Hard-and-Soft-Drinks-1.jpg

काठमाडौं – पछिल्ला दिनमा काठमाडौं उपत्यकामा मदिराको खपत बढेको छ । राजनीतिक अस्थिरतासँगै बढेको सरगर्मीले काठमाडौं केन्द्रित भेटघाट तथा छलफलसहित गतिविधि बढेकाले रक्सीको माग उच्च भएको मदिरा व्यवसायी संघ काठमाडौंले जानकारी दिएको छ । पछिल्लो चार साताको बजार अवस्था मूल्याङ्कन गर्दा मासिक झण्डै तीन लाख लिटर भन्दा बढीले मदिरा खपत बढ्ने देखिएको संघका अध्यक्ष गोविन्द बरालले जानकारी दिएका छन् । ‘मान्छेको चहल पहल बढेको छ, स्थानीय रुपमा उत्पादित मदिरा र ह्विस्कीको खपत ह्वात्तै बढेको देखिन्छ,’ बरालले भने । चिसोका कारण रम, भोड्काको खपत उच्च छ, भने बियर कम मात्रामा बिक्री भएको उनको भनाइ छ । बजारमा घरेलु मदिरा र बाह्य मुलुकबाट आयात भएका ह्विस्कीको खपत उच्च छ ।

काठमाडौं उपत्यकामा यस अघि मासिक २७ लाख ५० हजार लिटर भन्दामाथि मदिरा बिक्री हुने गरेकोमा अहिले ३० लाख ५० लिटर हाराहारी पुगेको संघले बताएको छ । कोरोनाअघि मासिक उपत्यकामा साढे ३५ लाख लिटर मदिरा खपत हुने गरेको थियो । मदिरा आयात, उत्पादक तथा बिक्रेताको विवरण र सरकारलाई तिरेको राजस्वको आधारमा उक्त तथ्याङ्क निकालिएको संघले जानकारी दिएको छ । काठमाडौंमा महँगो रक्सीको माग उच्च देखिँदा नेपालीको खर्च गर्ने हैसियत बढेको जस्तो देखिएको पनि अध्यक्ष बरालले बताएका छन् । देशभरका मदिरा व्यवसायीहरुको छाता सङगठन नेपाल मदिरा व्यवसायी महासंघका अनुसार देशभरका ठूला सहरमा अहिले मानवीय चहलपहल बढ्दै जाँदा व्यवसाय पुरानै अवस्थातिर जाँदैछ । लकडाउनका कारण सुस्त बनेको खपतमा केही तीब्रता देखिए पनि मोफसलमा उत्साह भने नदेखिएको मदिरा व्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले बताए ।

‘क्षेत्रीय शहरहरुमा पनि मानिसहरुको चहल पहल बढेको छ, भेटघाट र अतिथि संस्कार बढ्पछि मदिरा त आई नै हाल्छ,’ अध्यक्ष सोनामले भने । देशभरमा मदिराको पछिल्लो खपतबारे महासंघले तथ्याङ्क संकल गरिरहेको पनि उनले बताए । पोखरामा पनि मदिरा खपतले गति लिएको महासंघका महासचिव तारानाथ ढुंगानाले बताए । लकडाउन अघिको जस्तो नभए पनि आन्तरिक पर्यटक र मानिसको जमघट बाक्लीदा होटल खुलेको र मदिरा खपत बढ्न थालेको उनले बताए । ‘काठमाडौं जस्तै त नहोला तर केही चहलपहल बढेको छ’ ढुंगानाले भने ।

देखाउनकै लागि विदेशी मदिराको प्रयोग बढ्दा स्वदेशी उत्पादनका मदिराले भने बजार नपाएको महासंघले जनाएको छ । मदिरा पारखीले लोकल अथवा विदेशी रक्सी नै बढी रोज्दा नेपाली बियर र वाईनको खपत आरोलो लागेको महासंघका अध्यक्ष शेर्पा बताउँछन् । ‘मानिसहरुले महँगा विदेशी ह्विस्की बढी मात्रामा रुचाएका छन् त्यसबाहेक लोकलमै ध्यान गएको देखिन्छ’ उनले भने । जाडोका कारण बियर कम मात्रामा प्रयोग हुनु र स्वदेशी वाईनमा सरकारले अन्तशुल्क थप गर्दा पारखीहरु विदेशी रक्सीमा लागेको संघका अध्यक्ष गोविन्द बरालको भनाइ छ ।

‘सरकारले अन्तशुल्क लगाउनुपूर्व नेपाली वाइन सस्तो थियो, तर अहिले महँगो भएको छ, पौस बढी हाल्ने भए विदेशी नै खाउँ भन्ने भयो जस्तो लाग्छ,’ बरालले भने । भन्सार विभागकाअनुसार नेपालमा वार्षिक एक अर्ब ५० करोड रुपैयाँ बराबरको मदिरा आयात हुन्छ ।