Bus-1.jpg

काठमाडौं —भक्तपुरको दूधपाटीमा एक सार्वजनिक यातायातका सह–चालकले यात्रुमाथि कुटपिट गरेका छन् । आइतबार बिहान बा ४ ख ७४१ नम्बरको बसमा यात्रुलाई कुटपिट गरेको पाइएपछि प्रहरीले सह–चालक २० वर्षीय सुदीप खड्कालाई पक्राउ गरेको छ । भक्तपुरकी एसपी तारादेवी थापाका अनुसार खड्काविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान थालिएको छ ।

जिल्ला प्रहरी कार्यालय, भक्तपुरका डीएसपी दिपक गिरीका अनुसार कमलविनायकबाट रत्नपार्कका लागि चढेका यात्रु लिएर उक्त बस दूधपाटीस्थित बसपार्कमा आएको थियो । त्यहाँ गाडी रोकिने भएपछि यात्रुले किन पहिल्यै जानकारी नगराइएको भनेर प्रश्न गरेका थिए । सिधै जान्छ भनेपछि चढ्नु भएको रहेछ, ढिला हुने भएपछि विवाद भयो । गिरीले भने, ‘त्यसक्रममा सह–चालकले कुटपिट गरेका हुन् ।’ घटनामा एकजना यात्रुको हातमा चोट लागेको छ ,भक्तपुर अस्पतालमा उपचारपछि उनी डिस्चार्ज भइसकेका छन् । उनैले मुलुकी अपराध संहिताको दफा ११८ मा भएको अभद्र व्यवहार सम्बन्धी कसूरमा खड्काविरुद्ध जाहेरी दिएका थिए ।