_116746342_suarez2_ScE0hsyRlZ.jpg

लियोनेल मेस्सीले करियरको ६ सय ५० औं गोल पुरा गर्दा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई २–१ ले पराजित गरेको छ । फ्रिकिकमार्फत् उत्कृष्ट गोल गर्दै मेस्सीले बार्सिलोनालाई खेलमा अग्रता दिलाएका थिए । क्लबका लागि फ्रिकिकमार्फत् उनको यो ४९ औं गोल थियो ।

तर, दोस्रो हाफको शुरुवातमा नै जोर्डी आल्बाले आत्मघाती गोल गरेपछि खेल बराबरी भएको थियो । खेलको ७४ मिनेटमा एन्टोनी ग्रिजमानले गोल गर्दै बार्सिलोनालाई तीन अङ्क दिलाए । जीतसँगै बार्सिलोनाले रियल म्याड्रिडलाई उछिन्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडभन्दा बार्सा र रियल १० अङ्कले पछि रहेका छन् । सिजनमा खराब शुरुवात गरेको बार्सिलोनाले पछिल्ला १० खेलमध्ये ८ मा जीत र दुईमा बराबरी गरेको छ ।

आइतबार भएको खेलमा एथ्लेटिको म्याड्रिडले क्याडिजलाई ४–२ गोलले पराजित गर्यो । एथ्लेटिकोको जीतमा लुइस सुवारेजले २, साउल निग्वेज र कोकेले एक–एक गोल गरे । क्याडिजका लागि दुवै गोल अल्भारो नेग्रेडोले गरेका थिए । दुई गोलसँगै सुवारेज ला लिगाको यो सिजनमा १६ खेलबाट १४ गोल गर्दै सर्वाधिक गोलको सूचीमा पहिलो स्थानमा रहेका छन् ।