एजेन्सी – बङ्गलादेशमा आज प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा दर्जनौं घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीहरूलाई रबरको गोली, अश्रु ग्यास लगायत प्रहार गरेको थियो । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ । चर्चित लेखक मुस्ताक अहमदको जेलमै मृत्यु भएपछि बङ्गलादेशमा अधिकारवादी तथा विपक्षीहरु आन्दोलित भएका छन् ।
स्थानीय टेलिभिजनहरूले प्रदर्शन र झडपको प्रत्यक्ष प्रसारण समेत गरेका थिए । झडपपछि आन्दोलनकारीहरु थप आक्रोशित भएको र घटनाको धेरैले विरोध गरेको देखाइएको छ । प्रहरीले भने प्रदर्शन निषेध गरिएको ठाउँमा प्रदर्शन गरिएकाले रोक्न खोज्दा झडप भएको जानकारी दिएको छ ।
एक प्रहरी अधिकारीले भने “उनीहरुलाई त्यहाँ प्रदर्शनका लागि अनुमति थिएन, अनुमति नहुँदा नहुँदै पनि प्रदर्शन गरेर नियमको उल्लङ्घन गरेकाले हामीले उनीहरुलाई रोकेका हौँ,” । विपक्षी दल बिएनपीका प्रवक्ता रिज्भी अहमदले आफ्नो पार्टीका मात्रै ३० जना घाइते भएको बताएका छन् । घाइते हुनेमा बरिष्ठ नेताहरु समेत रहेको उनले जानकारी दिएका छन् ।
प्रदर्शनमा ५ सय भन्दा धेरै सहभागी भएको अहमदले दावी गरेका छन् । प्रदर्शनकारीहरूले प्रेस क्लबमा मानवसाङ्लो बनाएका थिए । प्रदर्शन ऐतिहासिक भएको दावी गर्दै प्रवक्ता अहमदले प्रदर्शनकारीमाथि भएको हस्तक्षेपले घटनामा सरकारी पक्ष नै संलग्न भएको हो की भन्ने आशंका उब्जाएको टिप्पणी समेत गरेका छन् ।