काठमाडौं – १ युवालाई बन्धक बनाएर १० लाख रुपैयाँ फिरौती माग्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका –१२ बखरीका २१ वर्षीय अजय यादव, मोरङ विराटनगर महानगरपालिका –१६ दरैया बस्ने २० वर्षीय रोहित पण्डित र विराटनगर महानगरपालिका –६ रामपुर बस्ने २८ वर्षीया सन्ध्या शर्मा रहेका छन् ।
उनिहरुले मोरङ जिल्लाको विराटनगर महानगरपालिका –१८ निवासी २३ वर्षीय सुभाष कामतलाई शनिबार दिउँसो करिब १ः३० बजेबाट बन्धक बनाएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनिहरुले पीडितको परिवारसँग १० लाख रुपैयाँ फिरौती रकम माग गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरिक्षक मान बहादुर राईले जानकारी दिएका छन् ।
प्रहरीले बन्धक बनाइएका सुभाषलाई २ घण्टाभित्र नै सकुशल उद्दार गरेको समेत प्रहरी नायव उपरिक्षक राईले जानकारी दिएका छन् ।