काठमाडौं – नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालत र न्यायाधीश उपर लाञ्छना लगाउने, धम्की दिने र न्याय दिने काममा बाधा गर्ने न्यायिक फैसला उलङ्घन गर्ने काम आफूबाट हुन नसक्ने जानकारी दिनुभएको छ ।
त्यस्तै उहाँले आफूले अदालतलाई धम्की दिएको भन्ने झुटो भएको भन्दै आफूविरुद्धको रिट खारेज गर्न माग समेत गर्नुभएको छ । अदालतको अवहेलना मुद्दामा आइतबार १० बुँदे लिखित जवाफ पेश गर्दै प्रचण्डले संवैधानिक नियुक्तिको विरोधमा देशभर सर्वत्र विरोध भैरहेको समेत उल्लेख गर्नुभएको छ ।
जवाफमा भनिएको छ , ‘वर्तमान प्रधानमन्त्रीले यो संवैधानिक संसदीय सुनुवाइको व्यवस्था निष्क्रिय पार्न नै प्रतिनिधिसभा विघटन गरेर संवैधानिक अङ्गका पदाधिकारी नियुक्तिको सिफारिस एकैदिन गरेको कुरालाई सम्मानित अदालतमा निवेदन परिसकेको छ । यसको विरोधमा देशभर सर्वत्र विरोध भैरहेको छ । यसबारेमा म यहाँ केही बोल्न चाहन्नँ ।’