काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले गृह जिल्ला झापा आउने रफ्तारलाई तीव्रता दिनुभएको छ । एक सातामा ३ पटक उहाँको झापा आउने कार्यक्रम तय भइसकेको छ । प्रधानमन्त्री ओली फागुन १६, १८ र २१ गते झापा आउने तय भएको छ ।
प्रधानमन्त्री सचिवालयका सदस्य होमबहादुर थापाकाको भनाई अनुसार फागुन १६ गते उहाँ दिनभर दमक र कमलमा हुने कार्यक्रममा सहभागी हुनुहुने छ । र फागुन १६ गते प्रधानमन्त्री ओलीले दमक र कमलमा विभिन्न योजनाहरुको शिलान्यास र उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दमक र चुलाचुली जोड्ने रतुवा नदीमा मदन भण्डारी मार्गमा पर्ने पुलको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । मदन भण्डारी मार्ग धरान पूर्व सेक्टर अन्तर्गत पर्ने २५ वटा भन्दा धेरै पुलको एकैपटक ओलीले शिलान्यास गर्नु हुने भएको छ । दमक ४ बाट उर्लाबारीको आमबारी जोड्ने मावा पुल, दमक १ बाट चुलाचुली जोड्ने रतुवा नदीमा निर्मित पुल, दमक १० बाट बालुवथान जोड्ने रतुवामा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
ओलीले गौरादह, दमक र कमलमा २ हजार २ सय विगाहमा बन्ने चाइना नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास पनि गर्नु हुने छ । कमल ७ मा हुने कार्यक्रमपछि प्रधानमन्त्रीले त्यहाँ आयोजना गरिने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री सचिवालयका सदस्य होमबहादुर थापाले जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले फागुन १८ गते व्यवसायी दुर्गा प्रसाईले सञ्चालन गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्ने र २१ गते सुखानी शहीद स्मृति दिवसका अवसरमा बिर्तामोडमा हुने सभालाई सम्बोधन गर्ने नेकपा झापाका कार्यालय सचिव शिव ढुंगेलले जानकारी दिएका छन् ।