काठमाडौं – नेपालका २ छिमेकी मुलुक भारत र चीनका राजदूतहरुले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । नेपालमा नयाँ राजनीतिक घटनाक्रम विकास भएसँगै भारतीय राजदूत विनय मोहन क्वात्रा र चिनियाँ राजदूत होउ यान्छीले काँग्रेसका सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेको खुलेको छ ।
सर्वोच्च अदालतले फागुन ११ गते संसद विघटन गर्ने सरकारको निर्णयलाई बदर गरेसँगै १२ गते चिनियाँ राजदूत यान्छी देउवा निवास बूढानीलकण्ठमा पुगेकी थिइन् । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसँग भेटपछि राजदूत यान्छीले देउवासँग भेटवार्ता गरेको काँग्रेस स्रोतले जानकारी दिएको छ ।
चिनियाँ दूतावासका एक जना प्रतिनिधिले काँग्रेस नेता डा. नारायण खड्कालाई भेटेर देउवासँग भेट तय गरेका थिए । यद्यपि यान्छीले नै देउवासँग वान टू वान वार्ता गरेकी थिइन् । त्यसो भोलिपल्ट भारतीय राजदूत क्वात्रा पनि सभापति देउवा निवास बूढानीलकण्ठ पुगेको खुलेको छ । विहीबार काँग्रेस पदाधिकारी बैठक सकिएपछि राजदूत क्वात्रा देउवा निवास बुढानिलकण्ठ पुगेको काँग्रेस स्रोतले जनाएको छ ।
विदेशी प्रतिनिधिसँग भेटवार्ता गर्दा यसअघि देउवाले पार्टीका अन्तर्राष्टिय मामिलाका जानकार नेताहरुलाई पनि सहभागी गराउने गरेका थिए तर पछिल्ला भेटवार्तामा देउवाले पार्टीका अन्तर्राष्टिय मामिलाका जानकार नेताहरुलाई पनि सहभागी नगरेको बुझिएको छ ।
सर्वोच्चद्वारा संसद विघटनको निर्णय बदर भएपछि राजनीतिक दलहरु नयाँ सरकार निर्माणको कसरतमा जुटेका बेला राजदूतद्वयले सक्रियता बढाएको देखिएको छ । स्रोतका अनुसार दुवै राजदूतले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा सभापति देउवासँग छलफल गरेका थिए ।
संसद पुनःस्थापनाबारे छिमेकी देश भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विहीबार नेपालको आन्तरिक मामिला भएको प्रतिक्रिया दिएका थिए । संसद पुनःस्थापना नेपालको आन्तरिक मामिला भएको भन्दै नेपालले आफ्नो प्रजातान्त्रिक प्रक्रिया र संस्थाद्वारा टुंगो लगाउने विषय भएको उनको भनाइ रहेको थियो ।
यो विषयमा चीनको औपचारिक धारणा भने सार्वजनिक भएको छैन । नेकपा विभाजन रोक्ने प्रयासमा असफल भएपछि पछिल्लो समय चीनले काँग्रेससँग सम्बन्ध विस्तारमा जोड दिएको छ । देउवालाई भावी प्रधानमन्त्रीका रुपमा हेरिएकाले राजदूतद्वयको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।