काठमाडौं – नेकपा एकताका लागि अभियान चलाउने भन्दै कुनै पनि खेमामा नलागेका उपाध्यक्ष बामदेव गौतमले पुष्पकलम दाहाल प्रचण्डसँग पार्टी एकताको सुनौलो जिम्मेवारी आएकाले त्यसलाई पूरा गर्न आग्रह गर्नु भएको छ ।
उपाध्यक्ष गौतम र प्रचण्डबिच आज बिहान करिब पौने घण्टा भेटवार्ता भएको थियो । सो भेटमा उपाध्यक्ष गौतमले प्रचण्डलाई पार्टी एकताको विकल्प नरहेकाले आफू एकताको पक्षमा उभिएको र अहिले सो जिम्मेवारी प्रचण्डको काँधमा आएकाले त्यसलाई पूरा गर्न भनेको गौतमका प्रेश संयोजक विश्वमणि सुवेदीले जानकारी दिएका छन् ।
प्रचण्डसँगको भेटमा उपाध्यक्ष गौतमले भन्नुभयो, ‘हामीले पार्टी एकता कायम गर्दा नेतृत्व हामीले नै लिन पाउने छौँ । अर्को पार्टीले खेल्ने मौका पाउँदैन । अर्को पार्टीले खेल्न पायो भने त्यो देश र हाम्रो पार्टीका लागि दुर्भाग्य हुनेछ । पार्टी एकता कायम गर्ने सुनौलो मौका नगुमाउनु होला ।’
जवाफमा प्रचण्डले आफू जहिले पनि पार्टी एकताकै पक्षमा रहेको र पार्टी विभाजित नरहेको तर अहिले कै अवस्थामा केपी शर्मा ओलीसँग सहकार्य गर्ने कुरा सोच्न पनि नसक्ने जानकारी दिनुभएको छ । ओलीले आत्मालोचना गरि राजीनामा दिनु पर्ने र सो कार्य पार्टी एकताका लागि हितकर हुने समेत उहाँले बताउनु भएको छ ।
उपाध्यक्ष गौतमले एकतासहितका रणनीतिक विषयका लागि कार्यदल बनाउन पनि सुझाव दिनुभएको छ । गौतम र प्रचण्डकाबिच छलफल जारी राख्ने सहमति भएको छ । सर्वोच्च अदालतले संसद विघटनको खारेज गरेपछि प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने र पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बोलाएर पछिल्लो परिस्थितिबारे छलफल गर्नुपर्ने उपाध्यक्ष बामदेव गौतमले यसअघि नै बताउनुभएको थियो ।