काठमाडौं – नेकपा प्रधानमन्त्री केपी शर्मा ओली समूहको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज बिहान साढे ८ बजे स्थायी कमिटी बैठक बस्ने तय भएको थियो । तर गृहकार्य गर्नुपर्ने भएको भन्दै यो बैठक स्थगित गरिएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आज स्थायी कमिटीको बैठक नबस्ने जानकारी दिएका छन् । थापाले भने ‘आज बैठक नबस्ने भयो, एक–दुई दिनपछि बस्छ,’ ।
बुधबार बसेको पहिलो दिनको बैठकले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै फागुन १३ भित्रै संसद बैठक आह्वान गर्ने, पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाउने र बिभिन्न स्थानमा पूर्वनिर्धारित सभाहरुलाई निरन्तरता दिने निर्णय गरेको थियो । बुधबारको बैठकपछि नेताहरुले आज पनि बैठक बस्ने बताएका थिए ।