काठमाडौं – सर्वोच्च अदालतले गरेको फैसलालाई नेकपा ओली समूहको स्थायी कमिटीको बैठकले स्वीकार गर्ने निर्णय गरेको छ । सर्वोच्च अदालतको फैसला स्वीकार्दै अदालतले तोकेको समय भित्रै संसद्को बैठक बोलाउने निर्णय भएको ओली समूहका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभएको छ ।
ज्ञवालीको भनाई अनुसार ‘संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएको छ । फैसलाले दिएको समय भित्रै बैठक बस्छ’,। त्यस बीचमा अन्य राजनीतिक दलहरुसँग पनि छलफल हुने समेत यहाँले बताउनु भएको छ । सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा विघटनको निर्णय बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको छ ।
राजधानीमा उपलब्ध स्थायी कमिटी बैठकले ४ वटा निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभएको छ । उहाँका अनुसार, अनपेक्षित भएपनि शक्ति पृथकीकरणको सिद्धान्त मान्ने पार्टी भएकाले सर्वोच्चको फैसला स्वीकार्दै कार्यान्वयनमा लैजाने निर्णय भएको छ ।
यो फैसलापछि पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय भएको उहाले बताउनु भएको छ । ज्ञवालीले भन्नुभयो ‘समग्र परिस्थितिको छलफल गर्न केन्द्रीय कमिटी बैठक र दलको बैठक छिटै बोलाइनेछ’,।
बैठकले यो समूहले देशका विभिन्न स्थानमा तय गरेको सभाहरुलाई निरन्तरता दिने पनि निर्णय गरेको छ । केही ठाउँको कार्यक्रमको स्वरुप फेरिए पनि आफ्नो कुरा राख्न सभा गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभएको छ ।