काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) आगामी जेठको दोस्रो साताभित्रै सक्ने गरी सञ्चालन गर्ने तयारी थालेको छ । जेठ मसान्तभित्र चालु शैक्षिक सत्र सक्ने र असार १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै राष्ट्रिय परीक्षा बोर्डले एसईई जेठको दोस्रो साताभित्र सक्ने गरी तयारीमा लागेको हो ।
परीक्षा नियन्त्रक रामराज खकुरेलले जेठ दोस्रो साताभित्र परीक्षा सक्ने गरी तयारीमा जुटेको जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘बोर्डले मिति तय गरेको छैन । तर, जेठको दोस्रो साताभित्र परीक्षा सक्ने गरी तयारी थालेका छौं ।’
सरकारले फागुन ३ गते राजपत्रमा सूचना जारी गरी शिक्षा ऐन जारी नभएसम्म एसईई सञ्चालनको अधिकार बोर्डलाई नै दिएको छ । परीक्षा सञ्चालनको अधिकार प्राप्त गरेपछि बोर्डले यस वर्ष पनि केन्द्रगत रूपमा नै प्रश्न पत्र छपाई गर्ने भएको छ । यसका लागि प्रक्रियामा गइसकेको परीक्षा नियन्त्रक खकुरेलले जानकारी दिनुभएको छ ।
बोर्डमा आएको प्रारम्भिक रिपोर्टअनुसार यो वर्षको एसईईमा नियमित, ग्रेडवृद्धिसहित करिब ५ लाख विद्यार्थी एसईईमा सङ्लग्न हुने भएका छन् ।