काठमाडौं – पशुपतिनाथको मूल शिवलिङ्गमा विवादकै बीच आज जलहरिलाई सुनले ढाकिँदैछ । यसअघि जलहरिलाई चाँदीले ढाकिएको थियो तर जलहरिको चाँदी ठाउँठाउँमा छेद भएर नयाँ फेर्नुपर्ने माग आएको थियो । तर पशुपति क्षेत्र विकास कोषले जलहरिलाई चाँदीको ठाउँमा सुनले ढाक्ने निर्णय गरेको हो ।
आज दिउँसो ११ बजेर ४५ मिनेटमा सुनको जलहरि राख्ने तयारी रहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिएका छन् । सुनको जलहरि राख्ने कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सहभागी हुँदैछिन् ।
पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मूल मन्दिरअघिको बसाहा र छानामा पनि सुनको जलप लगाउने निर्णय गरिसकेको छ । कोषका अनुसार जलहरिको लागि १ सय ८ केजी सुन लाग्ने अनुमान गरेको छ । बसाहा र छानामा समेत गर्दा १ सय ४२ किलोग्राम सुन लाग्ने प्रारम्भिक अनुमान रहेको छ ।
तर शास्त्रीय मान्यता एवं परम्परा अनुसार सुन लक्ष्मीको प्रतीक भएकाले शिवलिंगको जलहरिमा सुनको साटो चाँदी राख्ने चलन रहेको छ । यो परम्परा विपरीत सुनको जलहरि राख्न लागेको भन्दै स्थानीय एवं सम्पदाप्रेमीहरुले यसको विरोध गरेका छन् । सुनको जलहरि राख्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा २ वटा रिट निवेदन समेत दायर भएको छ ।