काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट तुरुन्त राजीनामा दिन सुझाव दिनुभएको छ । उपाध्यक्ष गौतमले एक विज्ञप्ति जारी गर्दै यो सुझाव दिनुभएको हो ।
संवैधानिक इजलासको निर्णयलाई स्वागत गर्दै सम्माननीय राष्ट्रपतिले प्रेस विज्ञप्ति मार्फत प्रतिनिधिसभा अधिवेशन आह्वान गर्न पनि उपाध्यक्ष गौतमले माग गर्नुभएको छ । त्यस्तै, उहाँले नेकपाको उपाध्यक्षको हैसियतले म दुवै अध्यक्ष केपी शर्मा ओली र प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाउन अनुरोध समेत गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गर्नु भएको संसद विघटन असंवैधानिक ठहर भएको जिकिर गदै उहाँले निरंकुशता स्वेच्छाचारिता, अराजकता र दुराचारिताको पराजय तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सार्वभौमिकताले पुनर्विजय प्राप्त गरेको ऐतिहासिक दिन भएको पनि बताउनु भएको छ । उनले भनेका छन् ‘यस अवसरमा म सर्वप्रथम प्रधान न्यायाधीश र संवैधानिक इजलासका न्यायाधीशहरूमा आभार प्रकट गर्दै वहाँहरुलाई हार्दिक धन्यवाद दिन्छु,’।