काठमाडौं – प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेसँगै नेकपा प्रचण्ड–नेपाल समूहले आफ्ना विरोध कार्यक्रमलाई खुसियाली सभामा परिणत गरेको छ । प्रतिनिधिसभा विघटनको विरोधमा चौथो चरणको आन्दोलनरत प्रचण्ड–नेपाल समूहले आज जिल्ला सदरमुकाम वा उपयुक्त ठाउँमा प्रदर्शन गर्ने निर्णय गरेको थियो । सो समूहले त्यो प्रदर्शनको स्वरुप परिवर्तन गरी आज देशैभर खुसियाली कार्यक्रम गर्न लागेको हो ।
प्रतिनिधिसभा पुनर्स्थापनाको खुसियाली मनाउन नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौं उपत्यकाको शान्तिवाटीकामा मध्याह्न १२ बजे भेला हुन, नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । सरकारविरुद्ध संघर्षमा सक्रिय युवा संघका सहसंयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आज शान्तिवाटीकामा भेला भएर संसद पुनर्स्थापनाको स्वागत गरिने जानकारी दिएका छन् ।
दीपशिखाले भने सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसलाले जनताको जीत भएको छ, जनता विजय भएको खुसियालीमा शान्तिवाटीकामा कार्यक्रम गर्दैछौं,’। कार्यक्रममा नेकपा अध्यक्षद्वय प्रचण्ड र नेपाल पनि सहभागी हुने समेत उनले बताएका छन् । प्रचण्ड र नेपाल चितवनमा हुनुहुन्छ । उहाहरु आजै नै काठमाडौं आउँदै हुनुहुन्छ ।
उपत्यका संघर्ष समितिको नेतृत्व गर्दै आएकी नेकपा नेतृ पम्फा भुसालले जनवर्गीय संगठनका नेताहरुलाई मंगलबार बेलुकी नै टेलिफोन गरी शान्तिवाटीकामा भेला हुन भनेकी थिइन् ।