काठमाडौं – विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ । संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको सम्मान गर्दै तत्काल नैतिकताका आधारमा राजीनामा दिन विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुरोध गरेको हो ।
‘विगतमा आफूले काम गर्न नसकेको स्वीकारोक्तिका आधारमा प्रधानमन्त्री ओलीले अब कुनै पनि खाले अवाञ्छित चलखेल नगरी संसदबाट नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्नुपर्दछ’, पार्टीका शरदराज पाठकले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
संविधानको रक्षा गर्ने दायित्वलाई रतिभर ख्याल नगरी प्रधानमन्त्री ओलीका हरेक असंवैधानिक कदमलाई रबर स्ट्याम्प सरह सदर गर्दै साथ दिएकी राष्ट्रपति विद्यादेवी भण्डारीले पनि तत्काल पदबाट राजीनामा दिनु पर्ने विवेकशील साझा पार्टीको माग रहेको छ ।
विज्ञप्तिमा भनिएको छ ‘अन्यथा राष्ट्रपति पद र संस्थाको साख लगातार गिराएको कसुरमा महाभियोग लगाएर भण्डारीलाई पदमुक्त गर्न संसद्मा रहेका सम्पूर्ण दल र सांसदहरूलाई हामी आह्वान गर्दछौँ’,। यस्तै पछिल्लो समय असंवैधानिक ढङ्गले गरिएका सम्पूर्ण नियुक्तिहरू खारेज गर्न पनि विवेकशील साझा पार्टीले माग गरेको छ ।