काठमाडौं – संसद विघटन गर्ने सरकारको असंवैधानिक निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि उत्पन्न राजनीतिक अवस्थाबारे छलफल गर्नकोलागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली पक्षले स्थायी समिति सदस्यहरुको बैठक बोलाएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे बस्ने बताइएको छ ।
यसअघि, प्रधानमन्त्रीका प्रेस सूर्य थापाले सर्वोच्च अदालतको निर्णय बावजुद प्रधानमन्त्रीले तत्काल राजीनामा नगर्ने जानकारी दिएका छन् । अदालतको निर्णयले राजनीतिक समस्या हल नगर्ने ओली पक्षको तर्क छ ।
संसद विघटनको निर्णय असंवैधानिक रहेको सर्वोच्चले ठहर गरेको छ । प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेपछि त्यस सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका सम्पूर्ण निर्णयहरु असंवैधानिक भएको अदालतले ठहर गरेको हो । त्यस्तै, १३ दिनभित्र संसद्को बैठक बोलाउन अदालतले आदेश जारी गरेको छ ।