काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गर्नुभएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले पुस ५ पछि आफूहरु नयाँ प्रकारको युद्धमा रहेको समेत जानकारी दिनुभएको छ । रक्तपातविहीन युद्धमा रहेको भन्दै उहाँले भन्नुभयो, ‘हाम्रो अदालतप्रति विश्वास छ, सही फैसला गर्छ भन्ने विश्वास छ ।’
प्रतिनिधिसभा विघटन प्रतिगमन भन्दै प्रचण्डले त्यसविरुद्ध हुँदै आएको आन्दोलनलाई शान्तिपूर्ण युद्धको संज्ञा पनि दिनुभएको छ । उहाँले भन्नुभयो ‘अहिलेको युद्ध हामीले जित्नु छ,’ । पार्टी धेरै दुःखले एकताबद्ध गरिएको उल्लेख गर्दै प्रचण्डले त्यसलाई विभाजन गर्ने षडयन्त्र भइरहेको बताउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फुटको बाटो रोजेको प्रचण्डले आरोप लगाउनु भएको छ ।
प्रचण्डले भन्नुभयो, ‘एकताको झण्डा हामीले उठाएका छौं । केपी जीले फुटको बाटो रोज्नुभयो, विघटन र बिसर्जनको बाटो रोज्नुभयो । उहाँले पार्टीलाई पनि फुट, विघटन र बिसर्जनतिर लैजानुभयो र देशलाई पनि, संविधानलाई पनि र लोकतन्त्रलाई पनि बिसर्जन गर्ने बाटोतिर जानुभयो । मुद्दा त उहाँले हारिसक्नु भयो । तर फेरि पनि व्यवहारिक रुपले त्यसलाई परास्त गर्नका लागि यो युद्ध हामीले जित्नु पर्छ ।’