काठमाडौं – सञ्चारकर्मी रवि लामिछानेको सङ्लग्नतामा नयाँ टेलिभिजन ‘ग्यालेक्सी फोरके’ सञ्चालनमा आउने भएको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरी सञ्चारकर्मी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानलको शुभारम्भको घोषणा गरेका छन् । यो टेलिभिजन नेपालकै पहिलो फोरके प्रविधिमा आधारित भएको सञ्चारकर्मी लामिछानेले जानकारी दिएका छन् ।
न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ सञ्चालन गरेका सञ्चारकर्मी लामिछानेको कार्यक्रम लोकप्रिय थियो, भने नयाँ टेलेभिजन खोल्नकै लागि भनेर उनी हालै सो संस्थाबाट बाहिरिएका थिए ।
उद्घाटन समारोहमा सञ्चारकर्मी रवि लामिछानेले टेलिभिजनले आम सर्वसाधारणको हेडलाइन बनाउनुका साथै भरपूर मनोरञ्जन पनि दिने बताएका छन् । लामिछानेले भने ‘जतिपनि आम सर्वसाधारण हुनुहुन्छ, जसको मुद्दा ओझेलमा पर्यो ती सर्वसाधारणको मुद्दालाई प्राथमिकतामा राखेर आफ्ना न्यूज र हेडलाइन बनाउँछौं’, । यो टेलिभिजनको अध्यक्षमा डीबी राई रहेका छन् भने उपाध्यक्ष छविलाल बञ्जाडे र प्रबन्ध निर्देशकमा स्वयम् रवि लामिछाने रहेका छन् ।