चितवन–नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद् एकनाथ रानाभाटको निधन भएको छ । चितवन मेडिकल कलेजमा उपचारारत रानाभाटको आज सोमबार दिउँसो १ बजेर ५८ मिनेटमा निधन भएको हो । उच्च रक्तचापका कारण मस्तिष्कघात भइ गत १६ दिनदेखि पूर्वसांसद् रानाभाटको उक्त मेडिकल कलेजमा उपचार भइरहेको थियो । रत्ननगर नगरपालिका वडा नं १४ पिठुवा निवासी ६८ वर्षीय रानाभाट वि.सं. २०५६ मा चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । रानाभाट नेपाली कांग्रेस चितवनका पूर्वसचिव, सुकुम्बासी समस्या समाधान आयोग रुपन्देहीका पूर्वअध्यक्ष, राष्ट्रिय सहकारी बोडका पूर्वउपाध्यक्षलगायत विभिन्न पदमा रहेर काम गर्नुभएको थियो ।
नेपाली कांग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरेका अनुसार विसं २००९ कात्तिक २८ गते स्याङ्जाको भाटखोलामा जन्मनुभएका रानाभाटका एक श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ । नेता रानाभाटका भोलि मङ्गलबार बिहान देवघाटमा अन्त्येष्टि गरिने जिल्ला पार्टी कार्यालयले जनाएको छ । नेपाली कांग्रेस चितवनले एक शोक वक्तव्य जारी गर्दै पार्टीले एक निष्ठावान् नेता गुमाएकामा दुःख प्रकट गरेको छ । भोलि बिहान ८ः३० बजेदेखि एक घण्टा रानाभाटको शवलाई चितवन पार्टी कार्यालयमा राखिनेछ ।