काठमाडौं – बाराको जीतपुर सिमरा उपमहानगरपालिका –९ मा रहेको आरती वनस्पति उद्योगमा आगलागी भएको छ । आइतबार साँझ ७ः३५ बजेदेखि लागेको आगो आज बिहान ११ बजेतिर मात्रै नियन्त्रणमा आएको छ । आगलागीका कारण भएको क्षतिको विवरण आउन भने बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिएका छन् ।
ज्वलनशील पदार्थ हुने उद्योगमा भएको आगलागी नियन्त्रणका लागि ८ वटा दमकलहरुको प्रयोग गरिएको समेत जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ । वीरगञ्ज महानगरपालिकाका—३ वटा, हेटौंडा, जीतपुरसिमरा, कलैया उपमहानगरपालिका, कोहल्वी नगरपालिका, नेपाल आयल निगम अमलेखगञ्जका एक–एक गरी ८ वटा वारुणयन्त्र र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।