काठमाडौं – प्रधानमन्त्री ओली आज सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा जाँदै छन् । दैजी छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज कञ्चनपुर जान लागेका हुन् । ओलीले आज बिहान साढे ११ बजे औद्योगिक क्षेत्र शिलान्यास गर्ने कार्यक्रम रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतले जानकारी दिएका छन् ।
कञ्चनपुरको वेदकोट–२ र ३ मा दैजी छेला औद्योगिक क्षेत्र स्थापना हुन लागेको हो । शिलान्यास कार्यक्रमको औपचारिक समारोह भने वेदकोट–२ स्थित झरना खेल मैदानमा आयोजना गरिएको छ ।
सरकारले यसै साता ४ औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम तय गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले ११ गते बाँकेमा नौबस्ता औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ ।
यसैगरी अर्थमन्त्री विष्णु पौडेलले १३ गते रुपन्देहीमा मोतीपुर औद्योगिक क्षेत्र र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले नै १७ गते मकवानपुरमा मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी प्रधानमन्त्री ओलीले गृहजिल्ला झापाको दमकमा (चीन–नेपाल) मैत्री औद्योगिक पार्कको शिलान्यास कार्यक्रम तय गरिएको छ ।