काठमाडौं – भक्तपुरबाट लागूऔषधसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बेतियास्थित सिक्टा–१० बस्ने ४७ वर्षीय आनन्दराम चमार रहेका छन् । भक्तपुर नगरपालिका–१ स्थित डा. इवामुरा अस्पताल अगाडिको सडकखण्डबाट आज बिहान चमारलाई लागूऔषधसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिएका छन् । शंकास्पद अवस्थामा सडकमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट ३ सय थान डाइजोपाम, ३ सय थान नोर्फिन र ३ सय थान फेनेरागन बरामद भएको समेत उनले जानकारी दिएका छन् ।