काठमाडौैं – राष्ट्रपति विद्यादेवी भण्डारीले कारागार भन्दा बाहिर रहेका ८ जनालाई आममाफी दिएकी छिन् । विभिन्न मुद्दामा अदालतबाट फैसला भएर सजाय भुक्तान गर्न बाँकी रहेका ८ जनालाई उनले आममाफी दिएकी हुन ।
कारागार विभागबाट सिफारिस भएकाहरुको कैद मिनाहा हुने गरे पनि जेलबाहिरै रहेका ८ जनालाई भने गृहमन्त्रालयको सिफारिसमा आममाफी दिइएको हो । सजाय सुनाइएका तर कैद भुक्तान गर्न बाँकी रहेका व्यक्तिहरुको निवेदनका आधारमा गृहले कैद मिनाहाका लागि गरेको सिफारिस राष्ट्रपति भण्डारीले स्वीकृत गरेकी हुन् ।
प्रजातन्त्र दिवसका अवसरमा आममाफी पाउनेहरुमा धेरै राजनीतिक पहुँचमा रहेका व्यक्तिहरु रहेको श्रोतले दाबी गरेको छ । मुलुकी फौजदारी कार्यविधि २०७४ को दफा १ सय ५९ बमोजिम उनीहरुको कैद मिनाहा भएको हो ।
यसरी कैद मिनाहा हुनेहरुमा सिरहा कारागारका २ जना, दाङको तुलसीपुर र घोराही कारागारका ५ जना र जगन्नाथदेवल कारागारमा रहेका १ जना रहेका छन् ।