काठमाडौं – आज नेपालमा प्रजातन्त्र दिवस बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । ७१ औं प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्र दिवस मूल समारोह समितिले आज बिहान सैनिक मञ्च टुँडीखेलमा विशेष समारोहको आयोजना गरेको छ ।
विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १ सय ४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ ।
राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा अविस्मरणीय मानिन्छ ।