काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानमा अब विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउनु पर्ने माग राख्दै नेपाल विद्यार्थी संघले आज काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
विद्यालय र क्याम्पसहरु खुलेका कारण विद्यार्थीहरुलाई कोरोना भाइरसको सङ्क्रमणकोे जोखिम बढेको भन्दै उनीहरुले विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर कोरोना भाइरसविरुद्धको खोप दिनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।
नेविसंघका महामन्त्री दिपक भट्टराईले सरकारले विद्यार्थीलाई प्राथमिकताका साथ कोरोना विरुद्धको खोप नदिए सडक आन्दोलन गर्ने समेत जानकारी गराएका छन् । विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउन माग गर्दै पहिलो चरणमा शान्तिपूर्ण रुपमा प्रदर्शन गरी सरकारको ध्यानाकर्षण गराएको उनले बताएका छन् ।
‘नेपाल विद्यार्थी संघको सरोकार, विद्यार्थीलाई कोभिड–१९ भ्याक्सिनको पहिलो अधिकार’ लेखिएको ब्यानरसहित उनीहरुले प्रर्दशन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरुले ‘अबको खोप हाम्रो हो’, ‘विद्यार्थीले लाउने खोप कहिले आउने ?’, ‘विद्यार्थी नै हो यो देशको आधार, अबको खोप हाम्रो अधिकार’, ‘भविष्यको कर्णधारले भविष्यमा नै हो त खोप पाउने ?’, ‘खोपको अधिकार सबैलाई’ लगायत लेखिएको विभिन्न प्लेकार्ड समेत बोकेका थिए ।